दमकमा मञ्जु श्री संवत २८६० डुक ल्हो ( गडुल वर्ग) सोनाम ल्होछार भव्यताको साथ सम्पन्न


 


दमकमा मञ्जु श्री संवत २८६० डुक ल्हो ( गडुल वर्ग) सोनाम ल्होछार (नयाँ वर्ष) को शुभकामना आदान प्रदान तथा सस्कृतिक कार्यक्रम भव्यताको साथ दमक -९ को चन्द्रमा पार्कमा आज सम्पन्न भएको छ !


































Photo Via : Yumesh Pulami

ल्होछार शब्द 'ल्हो' अर्थात् वर्ष वा साल र 'छार' वा 'सार' अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।
तामाङ समुदायको पृष्ठभूमि
तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा 'ता' भन्नाले घोडा अनि 'माङ' भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यस अर्थमा साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् ।
तामाङहरूलाई प्रकृति प्रेमी समूदायकारुपमा चिनिन्छ, विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समुदायमा आज छोरी चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा 'ल्हो' अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गोरु, बाघ, खरायो, डुक(ड्रागन), सर्प, घोडा, बाख्रा/भेडा, बाँदर, भाले, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट सुरु हुने यी वर्षहरू जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । वर्ष २०२४ चाहिँ डुक(ड्रागन) को वर्ष हो । बाह्र वर्गका वर्षहरूलाई बाह्र राशिका रूपमा पनि लिने गरिन्छ ।
नेपालमा ल्होछार मनाउने प्रचलन
नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई 'चन्द्र पात्रो' भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलावा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।
३ प्रकारका ल्होछारहरू
गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार ,तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार ,शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ ।
विश्वव्यापी मनाइने सोनाम ल्होछार
सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ । आजको दिन यी देशहरूका अधिकांश वौद्धविहारहरु रङ्गिन र उल्लासमय हुन्छन्, रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असीम आनन्दको अनुभूति हुन्छ ।
आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत् अनुरूप भने सोनाम ल्होछार हो, संवतले जेसुकै भनोस् शुभकामना अनि रौनकको यस ल्होछार महिनाभरि नै सबैलाई स्वागत छ ।
सोनाम ल्होछारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई 'तामाङ सेलो' भनिन्छ, सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका व्यक्तिहरू लगायत अन्य सबै समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।
नकारात्मक तत्त्वहरूलाई हटाउन कालागि, आशा जगाउने सकारात्मक तत्त्वहरू अनि शक्तिहरूलाई डाँक्न कालागि आज विभिन्न तान्त्रिक विधि अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।
लामाहरूसँग आशिष् लिएर आजको दिन वर्षभरिकालागि शुभ साइतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरू तैयार पारिने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामुदायिक रूपमा पनि समुदायका सबै जना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रूपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय समुदाय हो ।
सोनाम ल्होछारको शुभकामना ! असल कामनाहरू अनि आशाहरूले सबैलाई पछ्याओस्, चन्द्रमा दाहिने हुन् ।

No comments:

Post a Comment