दोस्रो ~ बाह्र बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला । 27 चैत्र 2080 देखी 27 बैसाख 2081 | सुनसरी | धरान |


 धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला २०८० चैत २७ देखि आगामी २०८१ वैशाख २८ गतेसम्म सञ्चालन भैरहेछ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको थियो ।

 

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।

भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउनु भएको थियो  ।

कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

ग्रन्थहरुमा उल्लेख भएअनुसार बराहक्षेत्र, चतरा धाम क्षेत्रको महत्व उच्च रहेको छ। यहाँ नियमित रुपमा पितृ श्राद्ध, मकर स्नानका साथै अन्य धार्मिक पर्वहरुको अवसरमा भक्तजनहरुको चहलपहल हुने गरेको छ। सोही स्थानमा रहेको हनुमान मन्दिर परिषरमा हनुमान जयन्तीलगायत पर्वहरुमा विभिन्न धार्मिक अनुष्ठान समेत हुने गरेको छ।

चताराधाममा २०५९ साल वैशाख १ गते कलियुगमा पहिलो पटक सुरु गरिएको कुम्भ मेला निरन्तर १२/१२ वर्ष मा पूर्ण कुम्भ मेला र ६/६ वर्ष मा अर्धकुम्भमेलाको रूपमा मेला लाग्ने गर्दछ। उक्त अवसरमा विश्व भरिका हिन्दु धर्मावलम्बीहरु जगद्गुरु बालसन्तको नेतृत्वमा बैदिक सनातन धर्मका सम्पूर्ण जगद्गुरुहरुका साथमा चतराधामबाट बराहक्षेत्रस्थित कोकाः कौशिकी नदीको संगम मा स्नान गर्न जाने चलन रहेको छ । यसरी चतराधाम र वराह क्षेत्रको विशेष महत्त्व रहेको पाइन्छ। चतराधामको अर्को आकर्षणार नेपालको एक मात्र जगद्गुरुको आश्रम जगद्गुरु पीठ (राधाकृष्ण भक्ति साधन आध्यात्मिक प्रतिष्ठान) हो। वि. सं २०५१/५२ साल तिर चतराधामको दुर्वासाघाट नजिकअनन्त श्री विभूषित वालसन्त मोहन शरण देवाचार्यजी महाराजले स्थापना गरेको सो आश्रम २०६७ वैशाख १ गते महाराज श्रीले काशी पण्डित सभा द्वारा जगद्गुरुको उपाधि प्राप्त गरेपछी जगद्गुरु पीठको रूपमा स्थापित भएको पाइन्छ। बालसन्तले प्राचीन हरिद्वारका प्रमाणित गरी प्रचार गरेको यो स्थान पर्यटकीय दृष्टिले निकै महत्त्वपूर्ण छ। हाल त्यस स्थानमा मन्दिरहरू, वृद्धाश्रम, वेद विद्यालय, कुम्भ स्मारक (नेपालको प्रथम कुम्भ मेलाको प्रतिक), तथा आकर्षणका थुप्रै विषयवस्तु रहेका छन्। त्यहाँ आयुर्वेदिक विश्वविद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र अन्य मठ मन्दिरहरू भने निर्माणाधिन छन ।

चतराधाम क्षेत्र जङ्गल सफारी, जलक्रिडा तथा नौकाशयरका दृष्टिले समेत महत्त्वपूर्ण छ। चतराधाम छेउको सप्तकोशी नदीमा नौकाशयर गरी पर्यटकहरू रमाउन सक्तछन्। दोलालघाटबाट आउने राफ्टिङ सेवा टुङ्गिने अन्तिम विन्दु पनि चतराधाम नै हो। चराहरूको पदयात्रा र सुन्दर पहाडी दृश्य अवलोकन समेत यस स्थानमा आउने पर्यटकका लागि आकर्षणका केन्द्र विन्दु हुन सक्दछन। 


No comments:

Post a Comment