जिजु बाजे, मगरहरुको श्राद्ध !


 जिजु बाजे, मगरहरुको श्राद्ध !


धेरै लाइ थाहा नहुन सक्दछ - स्रोह श्राद्धमा मगरहरुले पितृ श्राद्ध गर्दैनन बरु हरेक बर्षको विजय दशमी या भनौ बडादशैंको ठिक अघी स्रोह श्राद्ध सकिए पछी दशैँको फूलपातीको भोलि पल्ट शुक्ल षष्टी (छैटौं तिथी) को दिन दिउसो तिर पुरै  घर आँगन सबै सरसफाई र चोखो निधो गरेर त्यस दिनको  साझमा सम्पूर्ण पितृहरुको सम्झनामा धुप बाति गरेर  दिवंगत भैसक्नु भएको आत्मालाइ बोलाइ, उहाहरुलाई मन पर्ने खानाको परिकारहरु (बिशेषत: मगर सस्कृति अनुसारको) तयार पारी पितृहरुलाई एक बिशेष भोज गराई आफ्नो पितृहरु प्रति कृतज्ञता जाहेर गर्दछन, जसलाई मगरहरुले जिजु बाजे गर्ने भनेर बुझ्दछन !  

 [ यहा राखीएको भिडीयो अघिल्लो बर्षको हो ~ यसपाली पनी जिजु बाजे गर्ने दिन भोली परेको हुनाले आज अपलोड गरेको छु ।]

यस अवसरमा मगरहरु बिशेष गरेर तिन पुस्ते पितृहरुको चाही सके सम्म नाम लिएर मगर भाषामा :- ल है ! .., … (क्रमश दिवंगत भैसक्नु भएका व्यक्तिहरुको नाम भन्दै, नाम नआए …जे सम्बन्ध हो त्यहि भनेर सम्बोधन गर्ने) यस बर्षको शुक्ल षष्टी पारेर, शुभ साइत, सुभ दिन, चोखो निधो गरेर हजुरहरुलाई सम्झेका छौं! दु:ख मनाउ नगर्नु होला, जे जस्तो सकेको - जानेको छौं त्यहि गरि ल्याएका छौं, हजुरहरुको आत्माले शान्ति र मुक्ति पाओस भनि ~ परमात्मा भगवान सँग सदा कामना गर्दछौं ! यस विधि गर्दा या कही कतै गल्ति भएको भए हामीलाई अबुझ / अन्जान सम्झेर माफ दिनु होला ! हामी र हाम्रा सन्तानहरुलाई दु:ख नदिनु होला, हामी देखि नरिसाउनु होला ! बालीनाली सप्रेर जाओस ! दु:ख बिमार, दैविक प्रकोप र विपत्ति बाट हामीलाई सदा रक्षा गर्नुहोस !भन्दै धुप र बाती बालेर पुजा आज गर्ने !लौ यसपालिको भाग तपाइहरुलाई दिएका छौं... जे जस्तो भए नि मिठो मसिनो मानेर ग्रहण गर्नुहोस!भन्दै खाना खान दिनु पर्दछ! 

यसरी हरेक बर्ष जिजु बाजे गरे मात्रै हाम्रो पितृहरुको उद्दार हुने, पितृ खुसी भै सुख, समृद्धि, यश, कृति र सन्तान फैलिएर जान्छ भने विश्वास रहेको पाइन्छ ! जसले हरेक बर्ष  जिजु बाजे र केहि बर्षको अन्तरालमा कुल पुजा  ( जुन मंसिरे पुर्ने या बैसाखे पूर्णेमा गरिन्छ) गर्दैन उसलाई दु:ख, कष्ट, रोग-ब्याधी, सम्पतिको नोक्सान, विपति तथा कुल नाशको दोष हुने बिश्वास मगरहरुमा रहेको छ ! हुन त धर्म शास्त्रहरुमा पनि कुनै पनि देवी देवताको पुजा गर्नु भन्दा पहिले नै कुल/पितृको पुजा गर्नु पर्दछ यदी कुल/पितृको पुजा नगर्ने हो भने  देवी देवताको पूजेको फल प्राप्त हुदैन भनेर भनिएको पाइन्छ ! हामी मगरहरु बर्षमा एक पटक आउने आफ्नो दिवंगत पितृहरुको तिथिका दिन दिवंगतको सम्झनामा केहि कुराहरु भेना या भान्जालाइ कसै कसैले या भनौं कहिले कोहि बाहुनलाइ पण्डित लाइ बोलाएर दान दिने चलन छ ! 

जिजु बाजे गर्दाको मेरो आफ्नो सम्झना

जब दशैं लाग्छ, तब हामी मगरहरुको घरमा अरुहरुको भन्दा एउटा छुट्टै संस्कारको याद आउदछ त्यो हो जिजु बाजे ! त्यस दिन घरका सबै भएर दिन भरि लागएर पुरै घर सरसफाई अनिवार्य गर्नु पर्ने ~ भाडाकुडा पनि सबै ! जब ३/४ बजे तिर आँगन पनि बडालेर लिपपोत गरिन्थ्यो तब अन्य जातिका कोहि पनि हाम्रो घर आउन र हामी अरुको घर जान बन्देज नै हुन्थ्यो ! र त्यस दिन पुरै गाउँमा आज फलाना मगरको घर जानु हुदैन है भनेर हल्ला नै फिजिंथ्यो र कोहि पनि त्यस साझ हाम्रो घर 

आउदैनथे ! यदि केहि काम परे बाटो बाटै बोलाएर सोध्ने या भन्ने मात्र गर्दथे ! पुजा छोरा मान्छेले मात्र गर्ने र छोरी ,मान्छेले जिजु बाजे गर्दा आवश्यक सामग्रीहरु तयार गर्ने जस्तो दुना, टपरी बनाउने, रोटि बनाउने, खान, सब्जी का साथै प्रसादहरु तयार गर्ने रहन्थ्यो ! अनि घरको मुली (हाम्रो चाही- बुबा)ले जिजु बाजे गर्दा धुप, बाति गर्दा खेरि पुरै मगर भाषामा लौ ...सालको भाग स्विकार्नुस, चोखो नितो गरेर दिएका छौं, हामीले हाकेको ताकेको काम पुरा होस्, रोग ब्याधी नष्ट गर्दिनुस, हामीलाई दु:ख नदिनुस्, रक्षा गर्नुहोस, हामीलाई सहि बाटो देखाउनु होस, परिवारका सबैमा मंगल कुशल होस्, जे जस्तो जानेका छौं चोखो नितो गरेर सहि बार, सही तिथिमा यो भाग चडाएकाछौं केहि गल्ति भए अन्जान मुर्ख ठानेर माफ गर्नु होला आदि जस्ता कुराहरु जिजु बाजे गर्ने मुलीको पुरै तिन पुस्ता भित्रमा दिवंगत भएकाहरुको नाममा अलग अलग भागमा धुपबाती दिने गर्नु हुन्थ्यो !

 पहिले हामीले बुबाले यो कार्य गरेको देखेका थियौं अनि बुबा पछी ठुल्दाइले यी सबै कार्य गर्नु हुन्थ्यो उहालाई भाषा लगायत सबै कार्यविधिको तोडतरिका मज्जाले आउदथ्यो तर उहाको देहान्त पछी हामी माल्दाई र मैले गर्ने गरेका छौं तर हामी दुबैलाई भाषामा आधाकाँचो पर्यौं साथै विधि र आवश्यक सामग्री आमाले सिकाएको भरमा गर्दैछौं ! आधा आफ्नो भाषामा आधा पर्वते नेपाली भाषामा गर्न बाध्य छौं ! तर पनि जानी नजानी भए पनि आफ्नो सस्कार र परम्परालाई निरन्तरता राख्ने कोसिस गरेकाछौं र भन्नै पर्ने भएको पनि छ हाम्रो पितृलाइ  – “केहि गल्ति भए अन्जान मुर्ख ठानेर माफ गर्नु होलाभनेर !

जिजु बाजे गर्दा लाग्ने आवश्यक सामाग्रीहरु र विधी :

सबैभन्दा पहिले आफ्नो तिन पुस्तामा दिवंगत हुनु भएका सबैको सके सम्म नामावली, नाम थाहा नभए उहालाई गर्नु पर्ने सम्बोधन जस्तो किगोपाल काका हजुर बा”, ठुलो बडेमा, बढी आदि ! दिवंगत जति हुनु हुन्छ त्यति नै दुना तयार गरेर 

त्यसको लागी कोलाको पात सफा गरेर आगोको रापमा हल्का तताएर नरम बनाइ दुना बनाउने, प्रतेक दुनामा खाना, सब्जी (कुखुराको मासु, तोरीको साग, माछा, घिरौंला) अदुवा, फलफूलमा कोला,बाबर रोटी,रक्सि, जाड र पानी आवश्यक पर्दछ !

विधि: 

१) सरसामान सरसफाइ गरेर चोखो निधो गरेर नुहाएर पुजा गर्ने बस्ने ।
२) कुलथानीमा पुजाआजा गर्ने ।
३) जिजु बाजे गर्नु भन्दा पहिला त्यहि दिन साझ हाम्रोमा कुल थानको छेउमा- बाराजु यानी वायुको पुजा गर्ने गरिन्छ, त्यसको लागी एउटा कुखुराको भाले र पोथी कुखुरा काटेर भोग दिएर धुप बाति बालेर चढाइन्छ !
४) वायुको पुजा गरेको ठाउँ भन्दा अलगै भान्सा कोठाको दक्षिण तर्फ जिजु बाजे गर्ने ठाउँमा चोखो पानि या गोबर पानीले राम्रो सँग लिप्ने, लिप्न नमिल्ने ठाउँमा पानीले सफा गर्ने !
५) एक ठाउँमा अलगै धान चामल राखेर त्यस माथि दियो कलश स्थापना गर्ने !
६) फुलहरु, पहेलो अक्षेता, पानि चढाउने र अगरवती साथै बाति बालेर प्रतेक लाइ अलग अलग नाम भन्दै कोइला राखेर धुप दिने

७) पुजा गर्ने मुलीको तिन पुस्ते दिवंगतहरुको नाम गर्दै दुना छुट्याउने !

 

क) पहिलो लाइनको दुनामा :- एक लाइनको दुनामा दुनामा खाना,भुटेको चिउरा (आफैले हातले छोडाएको धानबाट घरैमा बनाएको), बाबर (रोटीको टुक्रा), तोरीको, घिरौंलाको, गुन्द्रुकको र माछाको सिद्राको सब्जी, कुखुराको मासु, अदुवाको टुक्रा, पाकेको कोलाको चाना (टुक्रा), कुखुराको पोलेको मुटु कलेजोको टुक्रा, दुध लगाएर राख्ने ! 

उदाहरणको लागी: …हामी भने - मानध्वज जिजु बाजे दुई जिजु बोजु, बाजे बजु, काका बाजे, ठुलो बढी बा ठुलो बढीआमा, माइला बडी बा, कान्छी फुपू, बुबा डम्बर बहादुर, ठुली आमा, ठुल्दाई प्रकाश दाजु

त्यही पहिलो लाइनको थोरै अलगै हुने गरी - मुसुरी फुपू बजु (अलग्गै) 

फेरी त्यही पहिलो लाइनको थोरै अलगै हुने गरी अन्त्यमा -  घर्ति घर्तिनी  (अलग्गै) भाग लगाएर छुट्याउने !

ख) दोस्रो लाइनको दुनामा :-  दोस्रो दुनामा रक्सि र जाड राख्नु पर्दछ !

 ग) तेस्रो लाइनको दुनामा :- पानी लगाएर भाग छुट्याउनु पर्दछ ! 

  गएको बर्ष हामीले भने १५ भाग लगाएर पुजा गरेका थियौं भने यसपाली १६ भाग हुने'छ - कान्छी फुपू थपिनु भएको छ किन भने उहाले बिबाह नगरिकन मूल घरमै बसेको हुनाले उहाको कुल पनि एकै मानिने भएकोले अब देखि पछिका सबै पुस्ताले आफ्नै पितृ मानेर जिजु बाजे गर्नु पर्दछ !

८) त्यस पछी सबैमा धुपबाती गर्दै - यो फलानाको भाग भन्दै - आउछ भने नाम नभए आफु सँगको सम्बन्ध सम्बोधन गर्दै भाग छुट्याउने (सकभर आफ्नै भाषामा प्राथाना गर्ने बल शक्ती माग्ने ।)
९) अनी काशको लोटामा चोखो पानी लिएर छर्कदै सिरुको कुचो लिएर बडार्दै घरबाहीर बाटो (सडक) सम्म जाने र उहाहरुको हात मुख धोए जस्तो गरेर - 'ल है पृत्रीहरु यसपटकको श्राद्धको भाग चोखो नितो गरेर बनाएर राखेको छ खान आउनुस' भनेर बोलाउदै उहाहरु आउने बाटो फेरी त्यही सिरुको कुचोले बढार्दै पुजा गरेको ठाँउ सम्म आउने र पुन: सबै भागमा धुपबाती गरेर 'ल अब खान शुरु गर्नुस है भनेर पानीले घेरेर देखाइदिने । यसरी पानिले बनाएको लाइन पितृले खाएर नफर्के सम्म नाघ्नु हुदैन भन्ने मान्यता रहेको छ!
१०) त्यस पछी आफु पनि उहाहरुले खादै हुन्छ भन्ठानेर साइडमा बस्ने र …थोरै केहि प्रसाद खाने रक्सि, कोला आदि! त्यसको केहि बेर पछी पुन: उहाहरुले खाइसक्नु भयो भन्ठानेर आन्तिम पटक काठको दाउराको कोइला धुप लगाउदै :- “लौ यसपालिको भाग यस्तै भयो, तपाइहरुलाई के कस्तो लाग्यो? यस्तै भयो गल्ति भए माफ दिनुहोला .. पितृको उद्दारको कामना सहित उहाहरुको पुजा गर्ने र फेरी त्यही सिरुको कुचोले बढार्दै घरबाहिर बाटो सम्म पुर्याउने र एक लोटा पानीले हात मुख चोख्याएर ! नमस्कार गर्दै राम्ररी जानुस भनेर विदा गर्ने !
त्यस पछी पुजा गरेको ठाउँमा आएर ! पितृहरुलाई खान दिएको भोजनलाइ प्रसाद मानेर पहिला सबै तिर चढाउने ! कुलथानी, फुलबारी, करेसाबारी, गोठमा गाईबस्तुलाइ दिने, कुकुरहरुलाई खान दिने ! अनि मात्रै अन्तिममा परिवारको अन्य सदस्यहरुमा बाडेर आपसमा खाने !

 मुख्य नोट:

मुख्य ख्याल गर्नु पर्ने कुरा के भने घर्ति घर्तेनी लाइ चढाएको भाग कसैले नखाने, बस्तुहरु लाइ खान दिने या बाहिर चढाइदिने ! प्रसाद आफैले खाइ सक्ने नसकेको बस्तुहरु लाइ दिने या बाहिर चढाएर छाड्दिने ! जिजु बाजे गर्दाको पर्साद छरछिमेक र अन्य जातका मानिसहरुलाई बड्नु हुदैन ! यसरी पुजा सके पछी मात्रै खाना सब्जी पकाएर खाने ! पुजा गर्दाको ठाउँको दुना टपराहरु बढारेर नफ्याक्ने, भान्सा घरकै एक छेउमा थुपारेर राख्ने र भोलि पल्ट  बिहान सबेरै सफाई गर्ने !  जिजु बाजे हरेक बर्ष गर्नु पर्दछ !  

 स्रोह श्राद्धमा मगरहरुले पितृ श्राद्ध गर्दैनन, बरु जिजु बाजे गर्ने गर्दछन ! बुबा भन्नु हुन्थ्यो -  यदि जुन मगरले स्रोह श्राद्धमा पितृ श्राद्ध गर्दछ उसले मगरको विधिविधान थाहा नभएको भनेर बुझ्नु पर्दछ ! अथवा …जुन मगरले जिजु बाजे गर्दैनन् तिनीहरुलाई मगरको विधिविधान संस्कार थाहा नभएको भनेर बुझ्नु पर्दछ !  के तपाईहरु जिजु बाजे गर्नु हुन्छ ? गर्नु हुन्छ भने के कसरी गर्नु हुन्छ ? यदि गर्नु हुदैन भने आफ्नो परम्परा र संस्कृति जोगाइ राख्न यसपालिबाट तपाई पनि थालनी गर्नुस है साथै आफ्नो सन्तानहरुलाई पनि सिकाइ राख्नुस !

No comments:

Post a Comment