इलाम यात्राले सिकायो: परिवार सँगै यात्रा गर्नु नै सबैभन्दा सुन्दर रोमान्स हो।
कुहिरो, चियाबारी र हामी—दमकदेखि श्री अन्तु, इलाम बजार, हुदै माइपोखरी, सन्दुकपुर सम्मको : हाँसो, माया र सम्झनाले भरिएको परिवारिक यात्रा ।
कहिलेकाहीँ यात्रा भनेको केवल ठाउँ परिवर्तन होइन, मन र सम्बन्ध ताजा बनाउने सुन्दर बहाना पनि हुँदो रहेछ। यही अनुभूति दिलायो हाम्रो गएको शुक्रबार र शनिबारको दमकदेखि श्रीअन्तु, इलाम, माइपोखरी र कन्यामसम्मको पारिवारिक यात्राले। यात्रामा धनकुट्टा बाट आमा र कान्छी बैनी, धरान बाट दिदी बैनी र नानी बाबुहरू, इटहरी हलगढ़ाबाट दिदी र नानी सँगै हामी यात्रामा सयर भएका थियौं ।
यात्रा शुरु : दमक → शनिश्चरे → बुधबारे → इलामको कन्याम
शुक्रबार बिहानै उत्साह बोकेर हामी स ~ परिवार दमकबाट निस्कियौँ। गाडीभित्रै हाँसो, ठट्टा र नयाँ योजनाले यात्रा छोटो जस्तै लाग्यो। शनिश्चरे र बुधबारे हुँदै इलामतर्फ उक्लिँदै जाँदा हरियो पहाड, चियाबारी र घुम्ती सडक सँगै गाडी भित्र बजेको रमाइलो गितले मन नै कता हराई रहेको थियो। कन्याममा साझको चिसोमा तात्तालो चियाको चुस्की लिएर हामि श्री अन्तु डाँडा तिर लाग्यौं ।
श्रीअन्तु पुग्दा : साँझ, पोखरी र रमाइलो रात
श्रीअन्तु पुगेपछि सबैभन्दा पहिला मन तानेको थियो — साँझपख पोखरी वरिपरि बत्तीहरू झिलिमिली, पानीमा परेका प्रतिबिम्ब, अनि चिसो हावाले माहोल नै रोमान्टिक बनाइदिएको थियो। युवाहरूको होमस्टे तथा बार–कॉटेजमा गीतमा नाच्दै, झुम्दै बितेको रात। केहि त नशामा मस्त झुमेर ... केटा केटीहरु एकान्तमा रुमलिएको पनि देखियो ~ यो देख्दा भने कता कता नमज्जा लाग्यो रमाइलो गर्ने बहानामा बिकृति पो बढ्दै गएको हो कि जस्तो लाग्यो ... यस बारेमा स्थानीय र प्रशासनले ध्यान दिनु पर्ने देखिन्छ ..पछी यसले अपराधिक घटना बढ्न सक्ने संकेत गर्दछ ! कोही ताली बजाउँदै, कोही गीत गुनगुनाउँदै, त कोही नाच्नै नसक्दा पनि नाचेजस्तो गरेर सबैलाई हसाउँदै। परिवारसँगै यति खुला भएर रमाउन पाउनु साँचिकै भाग्यको कुरा रहेछ। नानीहरु पनि कम्त खुसि भएका होइनन ... छोरी युसिता त त्यति राति पनि सुत्ने त नाम नै लिइन्न ...अघि अघि कुद्दै पोखरीको ओरिपरी एक फन्को मारिन ।
त्यस पनि हामी हामीले दमक बाट हिड्नु अघि नै रिजभ गरेको कटेज तिर लाग्यौं ~ अन्तु हिल साइड कॉटेजमा बास बस्यौँ — शान्त, न्यानो र आरामदायी। जहाँ स्वादिलो, पाहुना घरको जस्तो खान पिन ... पाहुनाका लागी सेकुवा पोल्दै खान पिन गर्न मिल्ने साथै ... नाचगान गर्न मिल्ने गरिको साउण्ड सिस्टमको पनि व्यवस्था रहेछ ! बस्न खानको लागी पनि इकोनोमिक नै लाग्यो । हामीले सुत्नका लागी एउटा कटेज र हल रिजर्भ गरेका थियौं जहाँ १७/१८ जना मुस्किलने अटेर सुतेका थियौं !
श्रीअन्तु डाँडा र सूर्योदय
रात अलिक अबेर सुतेकाले बिहान सबेरै उठ्न गाह्रो नै भयो ...अलिक ढिला भए'छ ...हतार हतार गरेर सुर्योदय हेर्न हामि अन्तु डाँडा तिर लाग्यौं .. र बिस्तारै उदाउँदै गरेको घाम, कुहिरो चिर्दै फैलिएको सुनौलो प्रकाश, र तल देखिने हरियाली… त्यो दृश्य शब्दमा बयान गर्न गाह्रो छ। हामी त्यहाँ पुग्दा सबै फोटो भिडियो, टिकटक बनाउनेहरुको भिड थियो हामीले पनि अरुके त्यहि सिको गरेर केहि थान फोटो खिचेर त्यहाँ बाट फर्कियौँ ....।
इलाम बजार : बिहानको खाना र सहर घुमफिर
त्यसपछि यात्रा मोडियो इलाम बजारतर्फ। बजार पुगेर सबैले मिलेर बिहानको स्वादिलो खाना खायौँ। चिया, हाँसो र हल्का थकान — सबै मिलेर केही बेर इलाम बजार डुलियो र हाम्रो मेन गन्तव्य पहिल्याउन अघि बढ्यौ । इलाम बजारमा लामो समय पछी फुपू दिदी सँग उहाको घरमा छोटो भेटघाट र आमाहरु सँग केहि बेर भलाकुसारी भएको थियो !
माइपोखरी : शान्ति र प्रकृतिको काखमा
दिउँसो करिब २ बजे तिर ति अप्ठ्यारो बाटोहरु छिचोल्दै माइपोखरी पुग्यौँ। यहाँको शान्त वातावरण, हरियो वन, चिसो हावा र प्राकृतिक सौन्दर्यले सबैलाई मोहित बनायो। यहाँ पुगेपछि लाग्यो — यात्रा केवल रमाइलोका लागि होइन, मन शान्त पार्न पनि हुँदो रहेछ। हुन त टिकटक र युटुब तथा फेसबुकका भिडियोमा देखिए जतिको ~ अपेक्षित चाही रहेन'छ तर एउटा अचम्म लाग्दो कुरा चाही के रहेछ भने ...त्यत्रो ठुलो जंगलको बिचमा रहेको ठुलो पोखरीमा रुखका पात पतिङ्गर चाही एउटै पनि नहुदो रहेछ ... किम्बदंती अनुसार त्यहाँ पानि माथि झरेका सबै पातहरु त्यहाँका चराहरुले टिपेर सफा गर्दछन ! मलाई चाही यो कुरा हो जस्तै लाग्यो किन भने त्यहाँ पोखरी माथी कही पनि पुराना रुखका पातहरु झरेर तैरिरहेको देखिएको थिएन ... ।
🌱 कन्याम : चियाबारी अनि फोटो नखिची आउने कुरै भएन
हामी माइपोखरीबाट सिधै फर्केर कन्याम आइपुग्यौँ। हरियाली चियाबारीबीच हिँड्दै, फोटो खिच्दै, अन्तिम पटक यात्रालाई अझै सम्झनायोग्य बनायौँ। कन्यामका ती बाटो, ती दृश्य र ती हाँसो — सबै क्यामेराभन्दा गहिरो गरी मनमै सुरक्षित भए।
फर्किने बाटो : बिराटमोड हुँदै दमक
साँझ करिब ६ बजेतिर बिराटमोड हुँदै हामी दमक फर्कियौँ। शरीर अलिक थकित थियो, तर मन भने अत्यन्तै हलुका, खुसी र सम्झनाले भरिएको।
हाम्रो यात्रा जुन सम्झना योग्य बन्यो
यो यात्रा केवल दमकदेखि श्रीअन्तु–इलाम–माइपोखरी–कन्यामको रुट मात्र थिएन। यो थियो — परिवारसँग बिताएको गुणस्तरीय समय, हाँसो, नाच, गीत र प्रकृतिसँगको नजिकको सामिप्यता र जीवनभर सम्झिरहने सुन्दर अनुभव रह्यो । यदि तपाईं पनि परिवारसँग छोटो तर गहिरो रमाइलो यात्रा खोज्दै हुनुहुन्छ भने — श्रीअन्तु, इलाम, माइपोखरी र कन्याम पक्कै पनि उत्कृष्ट विकल्प हुन्।
📌 यात्रा सकिन्छ, तर यादहरू कहिल्यै सकिँदैनन्… ❤️

No comments:
Post a Comment