जीवनको उतरार्धमा आएर बुझेको कुरा ~ जीवन त सरल नै राम्रो र सन्तोष रहेछ ।


अनुभवले सिकाएको सरलताको सौन्दर्य



जीवनका हरेक चरणले केही न केही सिकाउँछ। तर जीवनको उतरार्धमा आइपुग्दा हुने अनुभूति भने अझ गहिरो हुने रहेछ, जसमा उत्साह हराउँदैन, तर हतार हराउँदै जान्छ; सपना मर्दैनन्, तर प्राथमिकता फेरिन्छन्। आफ्नै भोगाइबाट मैले बुझेको एउटा सादा तर गहिरो सत्य के हो भने ..जीवन सरल हुँदा नै सबैभन्दा सुन्दर बन्दो रहेछ ।

बुढो भएको त भन्न मन लाग्दैन, तर उमेरले एउटा निश्चित घेरा पार गरेपछि सोच्ने तरिका र रहरहरु विस्तारै बदलिँदै जादा रहेछन । पहिले जस्तो हरेक कुरामा प्रतिक्रिया जनाइहाल्ने बानी कम हुँदै जाडो रहेछ। नकारात्मकताबाट टाढा हुँदै सकारात्मकतामा रमाउन सकिने रहेछ। मनलाई हलुका राख्ने कला नै जीवनको सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्न थाल्छ।

कहिलेकाहीँ आफ्नै उमेरका मान्छेहरूलाई हेर्दा “म त अझै त्यति बुढो देखिँदैन होला” भन्ने सानो आत्मसन्तोष आउँछ। अरूको कपाल धेरै फुलेको वा झरेको देख्दा मनभित्रै मुसुमुसु हाँसो फुट्छ—तर त्यो तुलना होइन, जीवनको स्वाभाविक यात्राप्रतिको स्वीकृति रहेछ।

पहिले जस्तो लोभ, घृणा, इख वा प्रतिशोध राख्ने मन विस्तारै हराउँदै जाने र माफ गर्न सजिलो लाग्न थाल्छ, अनि सकेसम्म बिर्सेर अघि बढ्न मन लाग्छ। फरक विचार भएका मानिसहरूलाई पनि अब विरोध होइन, सम्मानका साथ बुझ्न चाहना हुनु चाहि अझ राम्रो कुरा लग्यो ।

माया, प्रेम वा आदर अरूबाट पाउनै पर्छ भन्ने अपेक्षा पनि कम हुँदै गएको छ। किनकि विस्तारै बुझिँदैछ  : साँचो सन्तोष बाहिर होइन, आफ्नै भित्र हुन्छ। मन दुखे पनि धेरै नबोली सहन सक्ने क्षमता बढेको छ, सायद अनुभवले सिकाएको सहनशीलता होला।

मानव मात्र होइन, सम्पूर्ण प्राणीप्रति दया, माया र करुणा बढ्दै गएको महसुस हुन्छ। अरूको कुरा सुनेर कसैको बारेमा तुरुन्तै धारणा बनाउने बानी पनि घटेको छ। किनकि अब थाहा भइसकेको छ, हरेक कथाको अर्को पाटो पनि हुन्छ।

पहिले जस्तो स-साना कुरामा अल्झिने बानी पनि कम भएको छ। अनावश्यक गफ, हल्ला र बहसभन्दा टाढा बस्न मन लाग्छ। खुल्ला विचार, स्वतन्त्र सोच र शान्त जीवनतर्फ आकर्षण बढेको छ।

कतै विवादमा पर्नु भन्दा चुप लागेर बस्न सजिलो लाग्छ। किनकि अब जित्नु भन्दा शान्ति महत्त्वपूर्ण लाग्न थालेको छ। जीवनको सबैभन्दा ठूलो बुझाइ भनेको यही हो कि खुशी अरू मानिस, वस्तु वा परिस्थितिमा होइन, आफ्नै मनभित्र खोज्नुपर्छ, अनि आफु सँग जे जस्तो छ त्यसैलाइ उचतम प्रयोग कसरी गर्न सकिन्छ भन्ने लाग्दो रहेछ । जब यो कुरा बुझिन्छ, जीवन आफैं सरल र हलुका बन्न थाल्छ।

म अचेल प्राय: त हाफ पाइन्ट र चप्पलमै, कपाल नकोरी, जहाँ मन लाग्यो त्यहीँ निस्कन तयार हुन्छु, यानी फर्मल भैरहनु पर्ने जरुरी नै देख्दिन । देखावटीपन घट्दै जान्छ, अनि वास्तविकता नजिक लाग्न थाल्छ। साच्ची सबैलाई यस्तै हो कि मलाइ मात्रै ... आफ्नै विचार र आफ्नै कुरा मात्रै हुन् है मित्रहरु ... अरुमा तपाइँहरुमा पनि लागु हुनु पर्दछ भन्ने होइन !

अन्ततः, जीवनको उतरार्धमा आएर बुझेको सार एउटै छ—
सरलता नै सबैभन्दा ठूलो विलासिता हो।
कम चाहना, कम अपेक्षा, तर धेरै शान्ति—सायद यही नै जीवनको असली सन्तोष हो। सायदै यहि हो मेरो इच्छा घट्दै जाँदा बढ्ने सन्तोषको कथा पनि !!

 

No comments:

Post a Comment