हुर्रा नाच [ Magar Huraa Dance ]


विगतको महाभूकम्प र भारतीय नाकाबन्दी अनि अस्थिर राजनीतिले थला पारेको वेला देशमा मगरहरुले ‘देशै रमाइलो' भनेर कसरी यसपालिको तिहारमा हुर्रा नाच्लान भन्नेहरु नभएका होइनन तर सुखमाहोस या दु:खमा, देशमा या विदेशमा हुन चाडपर्व या कुनै उत्सवमा मगरहरु आफ्नो सस्कृति झल्काउन र पिडा विर्साउन “…देशै रमाइलो” भन्दै हुर्रा नाच्ने गर्दछन !
गौरादह नगरपालिका, वार्ड नं. ८, कोहबरा गाउको हुर्रा नाच
मरिन्छ की बाचिन्छ, थाहा छैन
खाइन्छ हासिन्छ, हुर्रा नाचिन्छ
…. देशै रमाइलो !
हास्ने खेल्ने हिजोका, तिमी भुरा
हुर्रा खेल्ने आजका, मगर शुरा
….. देशै रमाइलो !!
उफ्री उफ्री नाच्ने मगर …
जिन्दगी हो ,माया प्रेमको बगर
….. देशै रमाइलो !!!

… यसो भन्दै यसपालिको तिहारमा मस्तले हुर्रा नाच्ने सोच छ ! गौरादह [कोहबरा], दमक [गोलाटार], मधुमल्ला [मोरंग] डाँगी [मोरंग - केराबारी ] तिरै भेटम है लाफहरु हो !
मगर हुर्रा नाचको परिचय:
धरानमा खेलिएको हुर्रा नाच
मगर समुदायले नाच्ने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदी र हुर्रा नाचको छुट्टै पहिचान रहेको छ । त्यस मध्ये पनि पूर्वी नेपालमा विशेष गरेर हुर्रा नाच वढी प्रचलित रहेको छ !  हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर कोजग्रा पुर्णिमा सम्म  (१५  दिन सम्म) नाचिने गरिन्छ । आफ्नै मगर भेषभुषा लगाएर मगर भाषामा साथै नेपाली भाषामा पनि गाएर नाचिने यो हुर्रा नाच अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाकेपश्चात सफल्तापूर्वक भित्र्याइएको (उभो उदौलीमा ) खुशियालीमा पनि नाच्ने गरेको पाइन्छ ।  हुर्रा नाच्न गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन् ।
हुर्रा नाचको लागि ठूलो आँगन, चोक, बजार उपयुक्त हुने गर्दछ ।  नाच्नका लागि धेरै भन्दा धेरै मान्छेहरू तम्तयार भएर बसेका हुन्छन् । नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ । त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन् । हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ । ढोलके, मादलेहरू, भट्याउनेहरू (गाउने) दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन् । यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ । यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ । ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो । यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ ।

नामकरण र यसको उत्पती :
हुर्रा नाचको उद्गम स्थल भनेर धनकुटा जिल्लाको मुढेबास लाइ चिनिन्छ यसमा कसैको दुइमत रहेको पाइदैन तर यसको नामकरणमा भने केहि फरक मत पाइन्छ ! यो हुर्रा नाच कुनै किम्बदन्तीय या दन्ते कथामा आधारित नाच होइन तरपनि केहि मगर इतिहास, भाषा विज्ञहरु चाही यसो भन्ने गर्छन ! कुनै समयमा  पश्चिममा तत्कालिन शाषकहरु बाट राज्य खोसिए पछी भाग्दै भाग्दै पुर्व तिर छिरेका मगरहरुले यो नाच आफैले जन्माएको नाच हो भन्ने कुराको प्रमाण प्रेश गर्छन !
तर हुर्रा नाचको नामाकरणको बारेमा ब्लगर मित्र मनु ठाडा मगर आफ्नो ब्लगमा यस्तो लेख्नु हुन्छ :
"हुर्रा नामकरण कसरी र कसले गरे भन्ने वारेमा ठोस प्रमाण त अहिले सम्म पाइएको छैन तापनि यसका सम्बन्धमा विभिन्न तर्कहरु पाइन्छ । परापूर्वकालमा हुर्रा खेल्दा युवा युवतीहरु वीच दोहोरी गीत गाउने र दोहोरीमा विजेता टिमले हुरररे( शब्द प्रयोग गरेको र त्यसैबाट अपभ्रंश भएर 'हुर्रा' नाम रहन सक्ने बुढापाकाको अनुमान छ भने परापूर्वकालदेखिनै हुर्रा खेल्दा गितको अन्त्यमा हुर्रा हा...हा....भन्ने गरिन्छ । यहि हुर्रा हा...हा... बाटै यसको नाम 'हुर्रा' बनेको आमधारण प्रचलित छ । यसलाइ अचेल हुर्रा हा ...हा... को सट्टा दशै रमाइलो तथा मगरभाषमा रोहौ मेलिसौ भन्ने गर्दछन्‍ । जे भनिएतापनि, जे जसरी नामाकरण भएता पनि यसले एउटा आÏनै प्रकारको मौलिकता बोकेको छ जुन मगर संस्कृतिको अभिन्न अंग हो भन्दा अत्युत्ति नहोला !"

तिहारमा देउसी भैलो खेले जस्तै यसलाई एक किसिमले मगरहरुको देउसी कै रूपमा बुझ्दा पनि हुन्छ । यसमा दाजु, दिदि, बहिनी र अरु केटाकेटी खुट्टाको चाल र मादलको तालमा मिलाउने गरि रमाई-रमाई उफ्रि उफ्रि नाच्दछन् । यसरी नृत्यकै सिलसिलामा नातेदार बाहेक एक-अर्काले मनले चिताएमा बिवाह गर्ने चलन पनि छ किनभने एक अर्कामा मायापृतिको सँगालो मायालाई आमावाबुले पनि घृणाको दृष्टिले नहेरी राजिखुशिले विवाह गरिदिने परम्परा पनि विद्यमान सम्म चली आएको छ । विशेष त तिहारमा नाचिने यो नाच हिजो आज तिहारमा मात्र नभएर कुनै पनि चाडपर्व, विवाह, उत्वसव, महोत्सवहरुमा आफ्नो सस्कृति झल्काउनको लागी नाच्ने गरेको पनि  पाइन्छ ! पूर्वमा मगरहरुको यो हुर्रा नाच अन्य जातिहरुमा पनि लोकप्रिय हुदै गैरहेको पाइन्छ  !


सन्दर्भ स्रोतहरु :
magarbooks.org
koyurohit.blogspot.com
mgrgeen.blogspot.com
wikipedia.org
मगर हुर्रा नाचको भिडियोहरु  Youtube मा पनि हेर्न सक्नु हुन्छ !!

No comments:

Post a Comment