Borabadh (बोरा बाँध) - पूर्वको एक राम्रो पर्यटकिय गन्तव्य बन्दै ! Boating on Koshi River at Borabadha | Sunsari |








पछिल्लो समयमा पूर्वी नेपालमा निक्कै भाइरल बन्दै गएको एउटा रमाइलो गन्तव्य भएको छ  — Borabadh (बोरा बाँध) । कोशी नदीको किनारमा अवस्थित यो स्थान अहिले घुमफिर, रमाइलो र फुर्सदको समय बिताउनेहरूको नयाँ रोजाइ बनेको छ । प्राकृतिक दृश्य, खुला वातावरण र सजिलै पुग्न सकिने भएकाले यहाँ दैनिकजसो आन्तरिक पर्यटकको भिड देख्न सकिन्छ ।

Borabadh पुग्नेबित्तिकै कोशी नदीको विशालता र शान्त बहावले मन लोभ्याउँछ । यहाँ आउनेहरू बनभोज गर्ने, बोटिङ्गको मजा लिने, हर्स राइडिङ्ग गर्ने, मोटर बाइक राइडिङ्ग गर्दै नदी किनारको दृश्य हेर्ने गर्छन् । विशेषगरी साँझपख सूर्य अस्ताउँदै गरेको दृश्य हेर्न आउनेहरूको भिडले यो स्थान अझै जीवन्त देखिन्छ । साइड रिभर सिनमा बसेर फोटो खिच्ने र समय बिताउनेहरूका लागि यो ठाउँ स्वर्गजस्तै लाग्छ ।

हिजो हामी पनि स-परिवार Borabadh (बोरा बाँध) पुगेका थियौं । परिवारसँगै खुलेको ठाउँमा रमाइलो गर्नु, बच्चाहरूलाई खुला वातावरणमा खेल्न दिनु र प्रकृतिसँग नजिक भएर समय बिताउनु निकै सुखद अनुभव रह्यो । लामो यात्रा नगरी नजिकै यस्तो रमाइलो गन्तव्य पाउनु आफैंमा खुसीको कुरा हो ।

अझ खुसी लाग्ने कुरा के भने, यहाँको व्यवस्थापन पनि बिस्तारै राम्रो हुँदै गएको देखियो । ट्वाइलेट, पार्किङ्ग र साना पसलहरूको राम्रो व्यवस्था गरिएको रहेछ । यसले यहाँ आउने पर्यटकलाई सहज बनाएको छ भने स्थानीय व्यवसायीहरूलाई पनि राम्रो आम्दानीको स्रोत बनेको छ । स्थानीयहरूले चिया, खाजा, खानेकुरा तथा साना सेवामार्फत प्रत्यक्ष लाभ उठाइरहनु भएको देखिन्छ ।

Borabadh जस्ता स्थानहरूले के सिकाउँछन् भने, धेरै ठूलो बजेट र जटिल योजना बिना पनि स्थानीय स्रोत, नदी किनार र प्राकृतिक सौन्दर्यको सही उपयोग गर्न सकियो भने पर्यटन प्रवर्द्धन सम्भव छ । यसबाट अन्य ठाउँका स्थानीय सरकारले पनि सिकेर, आफ्ना क्षेत्रमा रहेका यस्ता सम्भावनायुक्त स्थानहरूलाई व्यवस्थित गर्दै स्थानीय पर्यटन आकर्षण गर्ने योजना बनाउन सक्नुपर्छ ।

समग्रमा भन्नुपर्दा, Borabadh (बोरा बाँध) केवल घुम्ने ठाउँ मात्र होइन, यो स्थानीय विकास, रोजगारी र पर्यटन प्रवर्द्धनको राम्रो उदाहरण पनि हो । यदि तपाईं पनि परिवार वा साथीहरूसँग एक दिन रमाइलो बिताउने सोचमा हुनुहुन्छ भने, कोशी नदी किनारको यो गन्तव्य तपाईंको सूचीमा अवश्य राख्नुस् । अझ राम्रो कुरा के लाग्यो भने बोटीङ्ग गर्दा लाग्ने खर्च नारायणी नदि, बराहक्षेत्र र अन्य ठाउँमा भन्दा सस्तो - रु. २०० मै घुम्न पाइन्छ, जुन सबै यहाँ घुम्न आउने पर्यटकहरुको लागी एफोर्टएबल हो जस्तो लाग्यो अहिलेको समयमा !


No comments:

Post a Comment