गुराँसले राताम्य बनाएको तिनजुरेमा दुई दिन, तीन परिवार र हजार सम्झनाहरू


नयाँ वर्षमै गुराँसको राजधानी—तिनजुरे पुगेको त्यो अविस्मरणीय पारिवारिक यात्रा

दैनिक व्यस्तता, शहरको कोलाहल र समयको चापबीच कहिलेकाहीँ मनलाई खुला आकाश चाहिन्छ—जहाँ सास फेर्दा पनि प्रकृतिको सुगन्ध आवस। त्यही चाहनालाई साकार पार्न हामी तीन परिवार—मेरो परिवार, टेकबहादुर सोल्टीको परिवार र चियापसलकी आन्टीको परिवार—मित्र घनेन्द्र श्रेष्ठको विद्युतीय गाडी (EV) चढेर झापाको दमकबाट तिनजुरे–मिल्के–जलजले क्षेत्रतिर दुई दिने पारिवारिक यात्रामा निस्कियौँ। अझ विशेष कुरा के थियो भने—यो यात्रा नेपाली नयाँ वर्षकै अवसरमा तय भएको थियो। नयाँ वर्षलाई गुराँसले राताम्य बनाएको पहाडमा स्वागत गर्ने कल्पनाले मात्र पनि मन उत्साहले भरिएको थियो, किन भने सामाजिक संजालमा सधै रिल्स र फोटोहरुमा धेरै देखेकाले पनि हामीमा रहर पलाएर आएको थियो त्यहाँ जानेको -।

दमकबाट सिधै धरान–भेडेटार हुँदै जान सकिन्थ्यो। तर रिजर्भ EV गाडीको रोड परमिट अनलाइन नबन्ने झन्झटिलो व्यवस्थाका कारण हामीलाई इटहरीको खानारस्थित यातायात कार्यालय पुग्नुपर्‍यो। आवश्यक प्रक्रिया पूरा गरेर पुनः यात्रा अघि बढ्यो। धरानमा छोटो विश्राम गरेर हामीले खाजा खाइम त्यहि समयमा साथीले EV चार्जपछि पनि गरि सकेछन र हाम्रो यात्रा पहाडतिर उकालो लाग्न थाल्यो।

भेडेटार, मुलघाट हुँदै अघि बढ्दा प्रकृतिको सौन्दर्य क्रमशः बदलिँदै गयो। तमोर नदीमाथिको पुलमा केहीबेर बसेर नदीको गर्जन सुन्दै, केहि थान तस्बिर खिच्दै हामी धनकुटातिर लाग्यौँ। साँझ हिले पुग्दा चिसोले स्वागत गर्‍यो तर थकित र भोकाएको हामीलाई तातो खाना र पारिवारिक हाँसोले यात्राको थकान बिर्साइदियो।

भोलिपल्ट बिहानै यानी नयाँ बर्षको (२०८३) पहिलो दिन - १ बैसाख - हामी बसन्तपुर हुँदै अघि बढ्यौँ। हिलेबाट निस्कँदा चिसो मौसम र कुहिरोले ढाकेको बाटो, सिन्धुवा पुग्दा खुलेको आकाश, चित्रेको रमणीय दृश्य—प्रत्येक मोडले नयाँ अनुभूति दिइरहेको थियो। बसन्तपुर आफैँमा तिनजुरे–मिल्के–जलजले ट्रेकको मुख्य प्रवेशद्वार हो, जहाँबाट सफा मौसममा सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमालसमेत देख्न सकिन्थ्यो ।

बसन्तपुरबाट अघि बढ्दै गर्दा हामीले पाथीभरा मन्दिर दर्शन गर्ने निर्णय गर्यौँ। वास्तवमा, पाथीभरा देवी मन्दिर नेपालकै प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ, जहाँ भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ पूजा गर्ने गर्छन्। हामी पुगेको समयमा त्यहाँको मौसम पनि रोचक थियो—क्षणमै घाम, क्षणमै कुहिरो। उचाइबाट तल फैलिएको फाँट र वरिपरि फुलेका गुराँसले मनै लोभ्याउनथ्यो । मन्दिर दर्शन गरि सके पछि पाथिभरा मन्दिरको पछाडी ठुलो फाँट रहेछ हो त्यहाँ पनि केहि थान फोटोहरु सम्झना स्वरूप खिच्न भ्याइयो र मन्दिरको फेदीमा आएर सबैजनाले खान खाइयो ! तर मलाइ लागेको चाही के हो भने म जस्तो मासु नखाने ...साग सब्जी मात्रै खाने लाइ भने बडो ..अफ्ठ्यारो लाग्यो ...होटल र खाना खाजा खाने ठाउँहरु साफ नहुनु र सबैमा मासुका परिकार मात्र पकाइनु अलिक गाह्रो लाग्यो ! पर्यटकीय क्षेत्र भए पछी सरसफाई, खान पिनमा र बसाईको अलिक राम्रो व्यवस्था हुनु पर्ने हो त्यो अलिक नभएको हो कि जस्तो लाग्यो मलाइ चाही !

त्यसपछि सुरु भयो हाम्रो मुख्य यात्रा—तिनजुरेतर्फ। तिनजुरे–मिल्के–जलजले क्षेत्रलाई नेपालकै “गुराँसको राजधानी” भनिन्छ, किनकि यहाँ नेपालमा पाइने ३२ प्रजातिमध्ये करिब २८ प्रजातिका गुराँस पाइन्छन् । अझ रोचक कुरा के भने, यी गुराँसहरू विशेषगरी नेपाली नयाँ वर्षतिर फुल्ने भएकाले यही समयमा हामी जस्ता हजारौँ पर्यटक यहाँ पुग्ने गर्छन् ।

हामी पनि नयाँ बर्षकै मौका पारेर त्यहाँ पुगेका थियौँ। तर पाथिभरा मन्दिर मास्तिर भने EV जस्ता सामान्य गाडीहरु नजादो रहेछ, त्यहाँ Four Weel Pickup जस्ता पहाड तिर नै चल्ने खालका गाडीहरु मात्रै जान सक्दो रहेछ ! केहि बेर उकालो हिडे पछि भने हामि हिडेर जना नसक्ने ठानेर त्यहिको एउटा Pickup मा चढेर पांच पोखरी सम्म पुग्यौं ...  टुटे देउराली पार गर्दै, पाँच पोखरी पुग्दा लाग्यो,जस्तो प्रकृतिले रंगको उत्सव मनाइरहेको हो। रातो, गुलाबी, सेतो गुराँसले भरिएको वन, जता हेर्‍यो त्यतै सुन्दरता... सबै थिर गुरासै गुरास तर यात्रा भने सजिलो थिएन pickup बाट झानेर पनि पैदल करिब २ घण्टा (हामीलाई नानी बोकेर जान लागेको समय) साँघुरो बाटो, कुहिरो लागेर चिसो भएको, भिरालो उकालो र साना नानीहरु बोकेर हिड्नु - कम्ता सकस थिएन । ती सबैबीच हामी अघि बढ्यौँ।

झण्डै दुई घण्टाको नानीहरु बोकेर पैदल हिडाईको संघर्षपछि हामी तिनजुरेको उचाइमा पुग्यौँ। त्यहाँबाट देखिने हिमाली दृश्य; मकालु, कञ्चनजङ्घा- प्रकृतिको अनुपम उपहारजस्तै लाग्यो । हामी त्यो Tinjure Peak (3010 M) उचाईमा करिब ५/१० मिनेट मात्रै त्यहाँ बसिम ! एक पटक लाग्यो ५/१० मिनेटको लागि हामि झापा दमक बाट यति टाढा ..यतिका सास्ती खेपेर यहाँ आइयो है ...फेरी लाग्यो यात्रामा आफु पुग्ने गन्तब्य भन्दा पनि त्यो गन्तव्यमा जादा देखिने मनोरम दृश्य, सास्ती, मस्ती, त्यहाको मौसम, जीवनशैली र वातावरणको भोगाई , तिता मिठा आदिको अनुभूति नै त यात्राको मिठास हो नि जस्तो लाग्यो

हाम्रो फर्कने यात्रा भने आफ्नै किसिमको अनुभव बन्यो। उकालो चढ्दा जति गाह्रो लागेको थियो, ओरालो झर्दा त्यति नै सतर्क हुनुपर्‍यो। कुहिरो कहिले पातलो, कहिले बाक्लो - बाटो अझै रहस्यमय देखिन्थ्यो। बीचबीचमा रोकिने, सास फेर्ने, अनि फेरि अघि बढ्ने- यी साना क्षणहरूले नै यात्रालाई अझ जीवन्त बनाइरहेका थिए।

फर्कदा भने पहिला गाडीले ल्याएको ठाउँमा हामीले गाडी भेटेनौं र हिड्दै पाँच पोखरी आउनु पर्यो ..र त्यहाँ बाट  गाडी भेटियो र हामी तल झर्यौँ। मन्दिरको फेदीमा आइपुग्दा शरीर थाकेको थियो, तर मन भने ताजा। सबै जना भेला भएर अनुभव साटासाट गर्‍यौँ, र फेरी केहि तल आएर RR Garden भन्दा मास्तिर हामीले राम्रो गुरास फुलेको देखिएर केही सामूहिक तस्बिर खिच्यौँ—त्यो क्षणलाई सम्झनामा कैद गर्‍यौँ र तिन जुरे लाइ बाइ भनेर लागिम !

फर्कने क्रममा हामी बसन्तपुरको चोलुङ पार्क पनि पुग्यौँ। यो पार्क केवल घुम्ने ठाउँ मात्र नभई लिम्बु संस्कृति, प्रकृति संरक्षण र स्थानीय जीवनशैली झल्काउने “जीवित संग्रहालय” जस्तै मानिन्छ । करिब १०० रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कले स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको छ । त्यहाँ घुम्दा लाग्यो—हामी केवल यात्रा मात्र गरिरहेका छैनौँ, इतिहास र संस्कृतिसँग पनि जोडिइरहेका छौँ।

साँझ हिलेमा आएर थकित र भोकाएका हामी सबैले खाजा खाएर हामी फर्कने लामो यात्रामा लाग्यौँ। धनकुटा, धरान, चतरा हुँदै—भत्किएको सडक, निर्माणाधीन बाटो, धुलो र थकान—सबै मिलेर यात्रा कठिन बनाउँदै थियो। तर त्यही कठिनाइबीच पनि हाँसो, सम्झना र सँगै बिताएको समयले यात्रालाई अझ अर्थपूर्ण बनायो। दिनभरको थकानले होला, गाडीमा बस्ने बित्तिकै सबै चुपचाप भए, कोही झ्यालतिर हेर्दै, कोही आँखा चिम्म गर्दै। त्यो मौनता पनि आफ्नै किसिमको मीठो थियो—थकान, सन्तुष्टि र सम्झनाले भरिएको। धनकुटामा सलुजा, युनेश, युसिता ममा घरमा बसे भने, धरान हुँदै  टेक बहादुर सोल्टीलाइ ससुरालीमा छाडेर ... हामी कालाबञ्जार– कान्छी चोक हुँदै इटहरीबाट राति करिब साढे एघार बजे हामी दमक आइपुग्दा शरीर थकित थियो, तर मन पूर्ण सन्तुष्ट। नयाँ वर्षलाई गुराँसको राजधानीमा स्वागत गर्ने हाम्रो सपना पूरा भएको थियो।

यो यात्रा केवल एउटा घुमघाम मात्र थिएन—यो अनुभव थियो, सम्बन्धको मिठास थियो, प्रकृतिसँगको भेट थियो। वास्तवमै, यात्रामा गन्तव्यभन्दा पनि बाटो, भोगाइ र सँगै बिताएका क्षणहरू नै सबैभन्दा सुन्दर हुन्छन्। गुराँससँगै रंगिएको त्यो दुई दिन अब सधैंका लागि सम्झनामा बसिरहनेछ।


उक्त भ्रमणमा सम्झना स्वरूप लिइएको केहि थान फोटाहरु :-
























No comments:

Post a Comment