Online धेरै, आत्मीयता कम हुँदै गएको समयको कथा भनौ अथवा Story र Status बीच हराउँदै गएको आत्मीयताको ~ तपाइँ हाम्रो कथा हो यो। 
एक समय थियो… घरमा पाहुना आउँदा चिया उम्लिनु अघि नै घरभरि खुसी फैलिन्थ्यो। साँझपख आँगनमा कुर्सी राखेर गफ हुन्थ्यो। कसैको दुःख सुन्न मोबाइल चाहिँदैनथ्यो, मन चाहिन्थ्यो। अहिले समय बदलियो। प्रविधि आयो। संसार एउटा मोबाइलभित्र अटायो। Facebook ले पुराना साथी भेटायो, Messenger ले टाढाका आफन्त जोड्यो, WhatsApp ले विदेशिएका छोराछोरीलाई घरसँग नजिक बनायो। तर यति धेरै “Connect” हुँदाहुँदै पनि, आज मानिसहरू भित्रभित्रै किन एक्लो भइरहेका छन्?
अहिले घरमा चार जना बसिरहेका हुन्छन्… तर चारै जनाको ध्यान चारवटा मोबाइलमा हुन्छ। एकले TikTok हेर्दैछ, अर्कोले Reels Scroll गर्दैछ, अर्को Online Shopping मा छ, र अर्कोचाहिँ “Typing…” गरेर Message Delete गर्दै हुन्छ। कहिलेकाहीँ त एउटै कोठामा बसेर पनि “ए पानी देऊ त” भन्नुभन्दा Messenger मा “Where are you?” पठाउने अवस्था आएको छ। पहिले मानिसहरू भेट्न हतारिन्थे, अहिले भेटेपछि पनि फोटो खिचेर “Upload” गर्न हतारिन्छन्। खाना चिसिन्छ, तर Story तात्तातै हालिन्छ।
अहिले त स्थिति यस्तो भइसक्यो — कसैले दुःख सुनायो भने पहिले “Oh No 😢” Emoji आउँछ, पछि मात्र “के भयो?” भनेर सोधिन्छ। पहिले आमाले कराउँदा रिस उठ्थ्यो, अहिले “Mom Calling…” देख्दा पनि मानिस Silent Mode मा बस्दछ। बुबाले “कस्तो छस्?” भनेर सोध्दा “Busy छु” भन्ने समय छ, तर त्यहि छोरासँग तीन घण्टा लगातार Reels हेर्ने समय पनि हुन्छ।
सामाजिक सञ्जालले मानिसलाई नजिक ल्यायो, तर तुलना गरेर जीवन जिउने बनायो। अरूको मुस्कान, घुमघाम, Success, Luxury हेर्दाहेर्दै मानिसले आफ्नै जीवनलाई कमजोर ठान्न थाल्यो। Facebook मा सबै खुसी देखिन्छन्। कसैले Relationship Goals हाल्छ, कसैले Motivational Quote, कसैले धेरै घुमफिर गरेको, कसैले Gym Selfie हेर्दा लाग्छ — संसारमा समस्या भएको एक्लो मानिस आफू मात्रै हो ~ अरु सब बिन्दास र खुसि छन् ।
तर वास्तविकता अर्कै छ। त्यही “Happy Couple” पोस्ट हाल्नेहरू सायद पाँच मिनेटअघि झगडा गरेर बसेका थिए कि। त्यही “Living My Best Life” लेख्ने मान्छे राति निदाउन नसकेर छत हेर्दै बसेको पनि हुन सक्छ। आज मानिससँग Followers धेरै छन्, तर मन खोलेर रोइदिन मिल्ने मानिस कम छन्। Birthday मा हजारौँ Wishes आउँछन्, तर अस्पताल पुग्दा सँगै बस्ने मान्छे पाउन गाह्रो हुन् थाली सकेको छ।
अझ अहिलेको प्रेम पनि कस्तो भइसक्यो भने — “Good Morning ❤️” बाट सुरु हुन्छ, “Seen 2:15 AM” मा सकिन्छ। Reply ढिलो आयो भने माया घटेको जस्तो लाग्छ। Last Active Hide गरेपछि विश्वास हराएजस्तो हुन्छ। Relationship भन्दा Password बढी Sensitive भइसकेको छ।
तर दोष केवल प्रविधिको होइन। समस्या हामीले सम्बन्धलाई समय दिन छोड्नुमा हो। अब हामी सुन्नभन्दा देखाउन बढी व्यस्त भएका छौँ। महसुस गर्नभन्दा पोस्ट गर्न हतारिएका छौँ। सायद यही कारणले आज मानिसहरू Online धेरै छन्, तर Emotionally Offline हुँदै गइरहेका छन्।
अन्तत लाग्छ हामी मानिसलाई चाहिने भनेको Fast Internet होइन, ढुक्क भएर बोल्न मिल्ने एउटा आफ्नै मान्छे हो। किनकि जीवनको अन्तिम समयमा कति Followers थिए भन्ने होइन, कति आत्मीय मानिस थिए भन्ने कुरा सम्झना रहन्छ।


No comments:
Post a Comment