नेपालमा केही हुँदैन” भन्दै Status हाल्ने कि… “केही गरेर देखाउँछु” भन्दै उठ्ने हो?
अहिले हामी र हाम्रो देश एउटा अनौठो मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशमा परिवर्तनको कुरा धेरै सुनिन्छ। सडक र सदनमा विकासका भाषण छन्, सामाजिक सञ्जालमा राजनीतिक बहस छन्, TikTok र Facebook मा Motivation का भिडियोहरू छन्। तर अर्कोतर्फ गाउँका खेत बाँझा छन्, जसरी देशमा बेरोजगारी बढिरहेको त्यसरी नै एयरपोर्टमा विदेशिने युवाको लामो लाइन पनि बढी रहेको देखिन्छ। यस्तो अवस्था हेर्दा लाग्छ; आजको नेपाली युवाको मनभित्र एउटा ठूलो युद्ध चलिरहेको छ : “यही देशमा बसेर केही गरौं कि विदेश जाऔं?”
आजको युवा केवल जागिर खोज्ने मानिस
मात्र होइन। ऊ आफ्नो पहिचान खोजिरहेको छ। ऊ सम्मान खोजिरहेको छ। पुरानो
पुस्ताजस्तो “जागिर पाइयो भने पुग्यो” भन्ने सोचमा आजको युवा छैन। उसलाई
स्वतन्त्रता चाहिएको छ, आफ्नो
जातीय, सास्कृति,
लैङ्गिक तथा समाजीक
पहिचान चाहन्छ। आफ्नै काम गर्न चाहन्छ। कम्तीमा महिनाको तलब आउँदा “सास फेर्न”
मिल्ने जीवन चाहन्छ। तर यथार्थ भने त्यति सजिलो छैन। नेपालमा धेरै युवाको अवस्था
पीडादायक छ। Degree छ,
तर काम छैन। Skill
छ, तर अवसर छैन। सपना छन्, तर लगानी छैन। ऊर्जा छ, तर प्रयोग गर्ने प्लेटफर्म छैन। उत्पादन
छ, तर बजार छैन। नीतिहरू
छन्, तर
कार्यान्वयन कमजोर छ। यही कारणले धेरै युवाले अन्तिम निष्कर्ष निकाल्छन्— “बरु Korea,
Japan वा Gulf
Country नै
ठीक।”
तर प्रश्न उठ्छ — के विदेश जानु गलत
हो? पक्कै
होइन। वास्तवमा यो Debate भन्दा
ठूलो कुरा अर्को छ — जहाँ भए पनि, देश
र समाजका लागि कस्तो Contribution दिन सकिन्छ भन्ने। नेपालमै बसेर Struggle गर्नेहरूलाई कहिलेकाहीँ “लाटो Idealist”
भनिन्छ भने विदेश
जानेहरूलाई “देश छोड्ने” भनेर गाली गरिन्छ, तर Reality यति Simple छैन। देशलाई अहिले Facebook
Comment Warrior होइन,
Solution खोज्ने
Generation चाहिएको
छ। विदेश जानु अपराध होइन, आफ्नो
परिवारका लागि संघर्ष गर्नु गलत होइन। वास्तवमा धेरै नेपाली युवाले विदेशमा पसिना
बगाएर नेपालकै घर धानेका छन्। आमाबुबाको औषधि, भाइबहिनीको पढाइ, परिवारको भविष्य — धेरै कुरा विदेशमा
रहेका नेपालीकै कमाइले चलेको छ। त्यसैले विदेश जानेहरूलाई “देश छोड्ने” भनेर गाली
गर्नु वा उनीहरू राष्ट्रवादी होइनन् भन्नु सरासर गलत हुन्छ। देशप्रेम केवल
देशभित्र बसेर भाषण गर्ने कुरामा मात्र सीमित हुँदैन, आफ्नो परिवार, समाज र देशको भविष्यका लागि
इमानदारीपूर्वक योगदान दिनु पनि एउटा ठूलो राष्ट्रप्रेम नै हो।
तर
अर्को यथार्थ पनि छ। विदेशमा पुगेपछि आफ्नो सीप, अनुभव र सम्भावनालाई सधैंका लागि उतै
गाडेर फर्कनै नचाहने मानसिकता बढ्दै गएको छ। कतिपयले नेपालमा भएको सम्पत्ति बेचेर
उतै लगानी गर्न थालेका छन्। यसले देशभित्र उत्पादन, लगानी र सम्भावना कमजोर बनाइरहेको छ।
त्यसैले आजको मुख्य प्रश्न “विदेश जाने कि नजाने?” मात्र होइन। असली प्रश्न त “जहाँ भए पनि,
देश र समाजका लागि के
योगदान दिन सकिन्छ?” भन्ने
हो।
नेपाललाई
अहिले समस्या देखेर गाली गर्ने मानिसभन्दा समाधान खोज्ने युवा चाहिएको छ। आजको
युवा केवल “Job Seeker” होइन,
“Problem Solver” बन्नुपर्छ।
गाउँमै बसेर कृषि गर्नेलाई सम्मान गर्ने सोच चाहिन्छ। मोबाइलमा Reels
मात्र हेर्ने होइन,
Business Idea पनि
खोज्ने बानी चाहिन्छ।
राजनीति गाली मात्र गर्ने होइन, नीति
पनि बुझ्ने चेतना चाहिन्छ। “देश बिग्रियो” भन्नुभन्दा पहिले “मैले के गरें?”
भनेर आफैलाई सोध्ने नैतिकता
पनि चाहिन्छ।
किनभने देश सरकार मात्रले बन्दैन।
देश नागरिकले बनाउँछन्। आफ्नो काम इमान्दारिता पुर्वक गर्ने मानिस पनि देशभक्त
हो। कर तिर्ने व्यापारी पनि देशभक्त हो। खेतमा पसिना बगाउने किसान पनि देशभक्त हो।
विदेशबाट पैसा पठाएर परिवार धान्ने युवा पनि देशभक्त हो। देशभक्ति केवल Facebook
मा झण्डा राख्नु वा
भाषण गर्नु मात्र होइन।
आजको समय Social Media को समय हो। कसैले १५ सेकेन्डको
भिडियोबाट लाखौं कमाइरहेको छ। कसैले Fake Motivation बेचिरहेको छ। तर यही Social Media
लाई सही तरिकाले
प्रयोग गर्ने हो भने यसले ठूलो अवसर पनि दिन सक्छ। गाउँको एउटा युवाले YouTube
बाट Coding
सिक्न सक्छ। कसैले TikTok
बाट आफ्नो Business
चलाउन सक्छ। किसानले Facebook
बाट आफ्ना उत्पादन
बेच्न सक्छ। Technology ले
ढोका खोलिसकेको छ, अब
त्यसलाई सही दिशामा प्रयोग गर्ने जिम्मेवारी हाम्रो हो।
राज्यको दायित्व पनि उत्तिकै
महत्त्वपूर्ण छ। युवालाई केवल भाषण होइन, अवसर चाहिन्छ। गुणस्तरीय शिक्षा, सीपमूलक तालिम सहितको अवसरको, उद्यम गर्न सहज नीति, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण र उत्पादनलाई
सम्मान गर्ने व्यवस्था आवश्यक छ। यदि युवालाई केवल चुनावको बेला मात्रै सम्झिने
हो भने देशको भविष्य आशाले होइन, निराशाले भरिन्छ।
आज नेपाललाई “निराशा फैलाउने विशेषज्ञ”
होइन, “सानो
कामबाट परिवर्तन सुरु गर्ने युवा” चाहिएको छ। विदेशमा हुनेहरूले सीप, अनुभव र सोच लिएर देशलाई सम्झिनुपर्छ।
नेपालमै हुनेहरूले सानो कामलाई पनि सानो नठान्ने हुनु पर्दछ। कृषि, पर्यटन, Digital काम, Freelancing, Startup,
स्थानीय उत्पादन र
कला— यस्ता धेरै क्षेत्रमा सम्भावना अझै बाँकी छ।
मलाई लाग्छ, नेपाल बिग्रिएको देश होइन। यो सम्भावना
र समस्याको बीचमा अल्झिएको देश हो। यहाँ समस्या धेरै छन्, तर सपना देख्ने मानिसहरुको पनि कमी छैन।
विश्वको इतिहास हेर्ने हो भने देशहरू केवल भाषणले बदलिएका छैनन्, युवाको अठोट र निर्णयले बदलिएका छन्। त्यसैले
आजको नेपाली युवालाई एउटा मात्रै कुरा भन्न मन लाग्छ :—
“देशले हामीलाई के
दियो भनेर मात्र नसोचौं, हामीले
त्यसको लागी आफूलाई कतिको तयार बनायौं भनेर पनि सोचौंन।”
किनकि हाम्रो भविष्य कुनै नेताको भाषणमा
छैन। हाम्रो भविष्य अहिले मोबाइल समातेर यो लेख पढिरहेको युवाले गर्ने निर्णयमा
निर्भर छ।
अन्ततः,
सबै मान्छे नेता
बन्नुपर्दैन। तर सबै जिम्मेवार नागरिक भने अवश्य बन्नुपर्छ।



No comments:
Post a Comment